‘सोनाम ल्होछार एकाताको सुत्रमा बाध्ने पर्ब हो, धर्म होइन ।’ –अध्यक्ष केशब लामा
आज भन्दा ४८ वर्ष अगाडि रामेछाप जिल्ला, दिमी पोखरी, वाड नं. ८, सानो डोक्मामा पिता रामबहादुर लामा र माता जेसुनी तामाङको कोखबाट कान्छा पुत्रको रुपमा जन्मनु भएका केशब लामा ‘थिङ’ कैलाली र कञ्चनपुर जिल्लाको तामाङ समुदाय र अन्य समुदायका लागि पनि जानेमाने व्यक्तित्व नै हुनुहुन्छ । १९ वर्ष अगाडि नै प्रबेशिका उत्तीर्ण गरेर आफूलाई समाजमा शिक्षित बृत्तमा उभ्याउने वहाँ एक बौद्धिक अगुवा पनि हुनुहुन्छ । अध्ययन्मा औधि रुचि भएका केशब उच्च शिक्षा अध्ययन गर्दा–गर्दै २०४८ देखि २०५१ सम्म बागवानी कृषि विकास आयोजनामा जागिरे हनुभयो । जागिरे अवधि समाप्त भएपछि समाजिक क्षेत्रमै आफ्नो जीवन न्यौछावर गर्नु भएका लामाले तामाङ समुदाय र आफ्नो क्षेत्रका लागि नेतृत्वकारी भूमिका खेल्ने वहाँ एक सच्चा र इमान्दार समाजसेबीको रुपमा पनि परिचित हुनुहुन्छ । जिल्ला भित्र छरिएर रहेका तामाङ आकृतिहरुलाई एकताको सुत्रमा बाँधेर संस्कार र सांस्कृतिक आचरणको पाठ पढाउने केशब लामा ‘थिङ’ नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कैलालीका अध्यक्षसमेत हुनुहुन्छ । आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका कोषाध्यक्ष, होटल व्यवसायी संघ कैलालीका पूर्बसचिव, धर्माेदय सभा कैलालीका आजीवन सदस्य, अपि कृषि सहकारी संस्था लिमिटेडका उपाध्यक्ष, श्री क्षोइलिङ करक्युपा गुम्बा, धनगढी, जुगेडाका सचिवसमेत रहनु भएका केशब, तामाङ समुदाय र आफ्नो क्षेत्रका लागि बिर्सन नै नसकिने एक तामाङ आकृति हुन् । सामाजिक हीतलाई जीवन र जगतको अपरिहार्य तत्व ठान्ने केशब लामा ‘थिङ’सँग हेल्लो पुनर्वास दैनिकका प्रकाशक तथा सम्पादक रञ्जित लामाले तामाङहरुको महान पर्ब २८५५ औं सोनाम ल्होछारको पेरिफेरीमा रहेर गर्नु भएको संक्षिप्त कुराकानी ः–
स्वागत छ यहाँलाई ?
धन्यवाद !
आज भोलिको समय कसरी बिताईरहनु भएको छ ?
आजभोलिको समय तामाङहरुको विशेष पर्व सोनाम ल्होछारलाई कसरी मनाउने र यसलाई कसरी संगठित गर्ने भन्ने विषयतिर केन्द्रित छु । समय अलि व्यस्त नै छ ।
ल्होछार पर्व कसरी मनाउदै हुनुहुन्छ ?
हामीले कैलाली भरी छरिएर रहेका सम्पूर्ण तामाङ जातीहरुलाई संगठित गरेर नेपाल तामाङ घेदुङ, जिल्ला कार्यसमिति कैलालीद्वारा धनगढीको फूलबारीमा विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भब्य र सभ्य रुपमा मनाउने तयारीमा छौं । कार्यक्रममा शुभकामना आदान प्रदान, विभिन्न परिकारका मासुहरु तथा विभिन्न गुलिया मिठाईहरु एक–आपसमा बाँडेर मनाउने छौं ।
ल्होछार को अर्थ के हो बताईदिनुस न ?
‘ल्होछार’ अर्थात ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउछ । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षलाई विशेष महत्वका साथ लिने गरिन्छ । बाह्रवटा ल्हो अर्थात वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशु र पञ्छीका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यी वर्षहरु सँगुर वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने प्रचलन छ । यो ‘२८५५ औं सोनाम ल्होछार सुङ्गुर (फागरड्वा ल्हो) वर्ग अन्तर्गतको नयाँ वर्षका रुपमा मनाउँदैछांै ।’
अँ साँच्चै ल्होछार कति प्रकार हुन्छन् ?
सामान्यतया ल्होछार तीन प्रकारका हुन्छन् । गुरुङले मनाउने ल्होछारलाई तमु ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ ।
वास्तवमा ल्होछार पर्व मनाउनुको तात्पर्य चाँहि के हो ?
अब यो त परापूर्वकालदेखि नै चलिआएको रीति संस्कृति हो । जसरी हिन्दू धर्मालम्बीहरुले बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् त्यसरी नै तामाङहरुले पनि आजको दिनलाई नयाँ वर्षको रुपमा नै मनाउँने गर्दछन् । वास्तवमै भन्नु पर्दा खेरि हामीहरुले मनाउँदै आएको यो ल्होछार चिनियाँहरुसँग पनि मेल खान जान्छ र चिनियाँ समुदायले पनि यसलाई बडो हर्ष उल्लासका साथ नयाँ वर्षको रुपमा मनाउँने प्रचलन छ । नयाँ वर्षमा विगतलाई विचार गरेर, वर्तमानलाई सदुपयोग गर्दै भविष्यलाई स्वर्णिम बनाउँने तयारीको रुपमा यो नयाँ वर्षलाई लिइन्छ । साथै नकारात्मक तत्वहरुलाई हटाउनका लागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नका लागि आजको दिन विभिन्न तान्त्रिक विधी अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ । लामाहरुसँग आशिष लिएर आजको दिन वर्षभरिका लागि शुभ साईतको अपेक्षा राखिन्छ ।
नेपालको संविधान २०७२ मा सवै जातजाती तथा समुदायलाई समान व्यवहार गरिने उल्लेख छ, यो कुरा कत्तिको ब्यबहारमा लागू भइरहेको छ जस्तो लाग्छ ?
राष्ट्रका हरेक नागरिक तथा समुदायले अपनाउने चाड पर्वलाई राज्यले समान व्यवहार र सबैको अधिकार सुनिश्चित गराउन सक्नु नै राष्ट्रको उपलब्धीको रुपमा लिनु पर्छ तर यहाँ बडो दुःखका साथ भन्न पर्छ, यस्तो हुनसकेको छैन । समुदायको विकास र परिवर्तन नै राष्ट्र निर्माणको आधार भएकाले समृद्धि राष्ट्रको परिकल्पनामा समुदायको पहिचानलाई संरक्षण गर्न जरुरी छ । राज्यको भनाइ र गराइमा निक्कै भेद देख्दछु म त । राज्यले संविधानमा उल्लेख गरेको हक र अधिकारलाई समेत समानरुपले व्यवहारमा उतार्न सकेका छैनन् । यस्ता कुराहरुमा सरकारले सौतेनी व्यवहार देखाउन हुँदैन । के हिन्दु, के बौंद्ध, के क्रिश्चियन सवैलाई एकै किसिमको नजरियाले राज्यले हेर्न सक्नुपर्छ । राज्यले केबल असन्तुष्टीको बीज रोप्दैछ जुन राष्ट्र र राष्ट्रियताको लागि निश्चय नै राम्रो कुरा हैन ।
कतिपय तामाङ समुदायमा पनि क्रिश्चियन धर्ममा आबद्धहरुले सोनाम ल्होछार मनाउदैनन् किन होला ?
गहकिलो प्रश्नका लागि धन्यवाद, वास्तवमा यो हरेक तामाङले बुझ्नै पर्ने कुरा के हो भने धर्म र संस्कार परिवर्तन गर्न सकिन्छ तर जात कुनै पनि हालतमा परिवर्तन गर्न सकिदैन । संस्कृति जातीसँग सम्बन्धित हुनेभएकोले धर्म र संस्कारलाई अलग्गै राखेर जात अनुसारको संस्कृतिमा मजाले आबद्ध हुनसकिन्छ । तामाङको रीतिरिवाज बौद्ध धर्मसँग सम्बन्धित हुने भएकोले तामाङको संस्कृतिलाई धर्मसँग जोडेर इशाइ तामाङ साथीहरु यो पर्बलाई मनाउँन नचाहेका हुन् । हाम्रो जात तामाङलाई अगाडि र हाम्रो धर्मलाई पछि राखेर हामी तामाङ भएको हैसियतले सोनाम ल्होछार मनाउन सक्छौ । म सवै तामाङ समुदायलाई के भन्न चाहन्छु भने सवै तामाङ्गहरु एकताको सुत्रमा बाँधियोस् । र यो पर्ब एकाताको सुत्रमा बाध्ने पर्ब हो, धर्म होइन ।
सरकारले सार्बजनिक बिदामा गरेको बिभेदलाई यहाँले कसरी बुझ्नु भएको छ ?
सबैले राज्यबाट समान अवसर प्राप्त गर्नु पर्दछ, जो नेपाल र नेपालीका आधिकारिक हुन् । सबै जातजाती, भाषा, धर्म र संस्कृतिलाई समान ब्यबहार गर्नुपर्छ भन्ने राज्यको नारा हात्तीको देखाउँने दाँत मात्रै भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र भएपछि पनि नेपालको निरंकुश कानूनहरु अझै संशोेधित परिमार्जित र लोकतान्त्रिक जनमुखी हुन सकेका छैनन् । ती यथास्थितिवादी ऐन तथा कानूनहरुले समानताको खुलेआम हनन् गरी धज्जी उडाइरहेका छन् । एउटै कुरा के हो भने हामी सबै के तामाङ, के बाहुन ? के क्षेत्री ? के दलित ? सबै जातजातीले स्वतन्त्रतापूर्वक आ–आफ्नो संस्कृति मानेर एउटा शान्त, सम्यंक, जातीय सहिष्णुता र सह–अस्तित्वको बातावरणमा बाचौँ र बाँच्न दिउँ ! कसैलाई काख र कसैलाई पाख गरेर राज्यले शान्त तलाउमा ढुङ्गा नहाँनेकै बेश ।
नेपाल तामाङ घेदुङले खाली ल्होछार मात्रै मनाउने गर्छ कि अन्य पनि केहि गर्छ ?
सबैप्रथम त नेपाल तामाङ घेदुङ भनेको के हो, यसले के गर्छ भन्ने विषयमा बुझ्न जरुरी छ । नेपाल राज्यको विभिन्न भू–भागमा बसेका तामाङ आदिवासी÷जनजातिको पहिचान, हक, हीत, अधिकार, भाषा, लिपि, धर्म, संस्कृति एवं लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय अखण्डताको संरक्षण र सम्वद्र्धन गर्दै आत्मनिर्णयको अधिकारसहित जातीय क्षेत्रीय स्वायत्त शासन सहितको संघीय राज्य संरचनातर्फ अघि बढ्न तथा सामाजिक, आर्थिक समुन्नतिसँगै राष्ट्रोन्नतिमा आवश्यक योगदान पु¥याउनका निम्ति सामूहिक तथा संगठित रुपमा प्रयत्नशिल रहनका लागि गठन भएको संघ नै ‘नेपाल तामाङ घेदुङ’ हो । सोनाम ल्होछार को आयोजना त यस संघको एउटा सानो अंश मात्रै हो ।
अन्तमा जाँदा–जाँदै यो ‘हेल्लो पुनर्वास दैनिक’ मार्फत हाम्रा सम्पूर्ण पाठक बृन्दहरुलाई केहि भन्न चाहनुहुन्छ की ?
सर्बप्रथम त तामाङहरुको महान पर्व सोनाम ल्होछारको पावन अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु । साथै संस्कार र संस्कृति बिना विश्व त के घर समेत नैतिकवान हिसाबले चल्न सक्तैन; यस्लाई बेवास्ता गरेर आदर्श संसारको परिकल्पना गर्नु आफैमा असत्य सावित हुनु हो । त्यसैले आउनुहोस् आ–आफ्नो संस्कार र संस्कृतिमा पलाएका झार र दुबोलाई सबै मिलेर गोडौं र सफा र स्वच्छ संस्कार र संस्कृतिको निर्माण गरौं ।
यस्तो अमूल्य समयको बाबजूद पनि आफ्ना विचारहरुलाई हाम्रा पाठकहरु सामू प्रस्तुत गरिदिनु भएकोमा यहाँलाई धेरै–धेरै धन्यवाद !
यहाँ र ‘हेल्लो पुनर्वास दैनिक’ पत्रिकालाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मेरा बिचार र भावनालाई बिभिन्न जात जाााति र तधर्मालम्बीहरुसम्म पु¥याउने माध्यम बनिदिनु भएकोमा पुनः पनि यहाँलाई र यहाँको यस दैनिकका सम्पूर्ण परिवारलाई धन्यवाद दिदै बिदा हुन चाहन्छु, नमस्ते !
Comments are closed.