ल्होछारलाई राष्ट्रिय पर्वकै रुपमा स्वीकारौं !

सोनाम ल्होछार तामाङ जातीहरुले मनाईने पर्व हो । ‘ल्होछार’ अर्थात ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउछ । यस दिन नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ जाती लगायत चीन सहितका अन्य मुलुकहरुमा यो दिनलाई वडो हर्ष उल्लासका साथ नयाँ वर्षको रुपमा विशेष परम्परागत अनि सांस्कृतिक महत्वकासाथ मनाउँने गर्दछन् । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षलाई विशेष महत्वका साथ लिने गरिन्छ । बाह्रवटा ल्हो अर्थात वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशु र पञ्छीका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यी वर्षहरु सँगुर वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने प्रचलन छ । यो ‘२८५५ औं सोनाम ल्होछार सुङ्गुर (फागरड्वा ल्हो) वर्ग अन्तर्गतको नयाँ वर्षका रुपमा मनाउँदैछन् ।’

रञ्जित लामा
धनगढी, कैलाली

बहुलजाती, बहुलभाषी र संस्कृतिले घच्चाघमासन देश नेपाललाई वर्तमान अवस्थामा नेपालको संविधानमा धर्मनिरपेक्षता शब्द उल्लेख भैसकेकोले हाम्रो देश धर्मनिरपेक्ष देश हो । संविधानले कुनै पनि भाषा, धर्म र संस्कृतिमा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूत गरेका छन् । त्यसैले हाल हाम्रो देशमा एउटा सम्प्रदायले अर्को सम्प्रदायलाई यो तेरो र यो मेरो भन्ने भन्दा पनि नेपाली दाजुभाइ दिदीबहिनीले मान्ने हरेक धर्म र चाडपर्वलाई सम्मानजनक रुपमा लिने जुन वातावरणमाको सृजना भएको छ, त्यसले गर्दा यो पर्व पनि तामाङ समुदायको मात्रको नभई सम्पूर्ण नेपालीको राष्ट्रिय पर्वको रूपमा रुपान्तरण भएको छ । विश्वव्यापीकरण, वैदेशिक रोजगार तथा देश धर्मप्रति उदार हुँदै गएको सन्दर्भमा सोनाम ल्होछार सम्पूर्ण नेपालीहरुको सांस्कृतिक पर्वको रूपमा विकास हुँदै गएको छ । त्यसैले आजभोलि राज्यले पनि यसलाई सांस्कृतिक उत्सवको रूपमा मनाउन थालेका छन् । नेपालीहरुले यसलाई आफ्नो माटो सुहाउँदो तरिकाले मनाई हार्दिकता पूर्वक स्वीकार गरिरहेका छन् । ठूलो फूलबारीमा एकै जातका फूलहरु रोपिदिदा केही समय पश्चात् फूल फूल्दा एकै जात र रंगको फूलले त्यो फूलबारी रंगिन्छ, तर त्यो फूलवारी निश्चित रूपमा सुन्दर देखिदैन । त्यसैले हामीले सबै फूलहरु फुल्ने अवसर दिएर नेपाल रुपी फूलबारीलाई सुन्दर बनाउनु पर्दछ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाललाई जुन फूलबारीको रूपमा परिभाषित गरेका थिए, त्यो वर्तमानसम्म आईपुग्दा पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
त्यसैले कुन चाडपर्व कुन सम्प्रदाय र धर्मावलम्बीको ? भनेर सोध्ने र नाक खुम्च्याउने भन्दापनि दशै–तिहार, छठ, क्रिसमस, इद, ल्होछार सबै नेपालीको चाड पर्व हो भनेर बुझ्ने समय भइसकेको छ । जसले अनेकतामा एकताको भावनालाई थप उजिल्याउँदै नेपाली राष्ट्रवादलाई थप बलियो बनाउने कुरामा कसैको दुईमत हुन सक्तैन । यहि नै नेपालको संविधान २०७२ मा उल्लेखित धर्मनिरपेक्षताको मर्म पनि हो । यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नहत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’, बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु सबैको साझा दायित्व भएकोले सोनाम ल्होछारलाई सम्पूर्ण नेपालीकै पर्वको रुपमा स्वीकार्ने सम्पूर्ण उदार हृदयी राष्ट्रवादी मनहरुलाई हाम्रोतर्फबाट नमन तथा हार्दिक शुभकामना !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.