नेविसंघ सभापति ऐन महरसहित ६ जना पक्राउ

हेल्लो समाचारदाता 

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति एने महरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारविरुद्ध प्रदर्शन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति नैनसिंह महरसहित ६ जना पक्राउ परेका हुन् । उनीलाई मंगलबार दिउँसो मीनभवन अगाडि नेविसंघले गरिरहेको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना शर्त रिहाइको माग गर्दै निकालिएको र्‍यालीबाट सभापति महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ गरिएकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

माघ १९ गते शनिबार सरकारी सवारी साधनको आवतजावतमा अवरोध पुर्‍याउने नेविसंघको आन्दोलनका क्रममा गाडीमा आगजनी भएपछि कास्की प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेका थियो । तर नेविसंघले उनीहरुमाथि प्रहरीले सरकारको ठाडो आदेशमा झुटा मुद्दा लगाएर फसाउन खोजेको दाबी गर्दै आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत नेविसंघले भोलि गण्डकी प्रदेशमा सरकारी सवारीसाधन चल्न नदिने, माघ २४ गते पोखरामा वृहत् सभा गर्ने र माघ २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.