ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा आउने सेवाग्राही सवारी बाटोमै पार्किङ गर्न बाध्य

जिम्मेवार निकाय बेखबर

हरिलाल जोशी

माघ १६,पुनर्वास–ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा आउने सेवाग्राहीहरुले बाटोमा सवारी साधन पार्किङ्ग गर्न बाध्य भएका छन् । बाटोको एक पट्टि बनेको नाला जमिनको सतह भन्दा अग्लो भएपछि सवारी साधनहरु ईलाका प्रशासन हाता भित्र लिनमा समस्या भएको हो ।
नाला निर्माण भएको करिब नौ महिना बितिसक्दा पनि ईलाका प्रशासन कार्यालयको गेटबाट भने अहिले सम्म पनि सवारी साधन भित्र लैजाने वातावरण नहुनु आफैमा लज्जास्पद रहेको सेवाग्राहीहरु बताउछन् ।
दैनिकै सयौंको संख्यामा बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाकाबाट आउने अपाङ्ग,वृद्धवृद्धाहरुलाई कार्यालय भित्र जान पनि निकै कठिनाई हुने गरेको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।
कार्यालयको गेटको यस्तो दुराअवस्थाको विषयमा ईलाका प्रशासन कार्यालयका प्रमुख धन बहादुर चन्दसँग सोध्दा उहाँले कार्यालयमा सो मर्मतका लागि बजेट नभएको र पुनर्वास नगरपालिकाका नगर प्रमूखलाई माटो हालिदिने विषयमा कुरा राख्दा नगर प्रमूख ज्यूले माटो हालिदिने भनेपनि अहिलेसम्म आश्वासन मात्रै देखाएको कार्यालय प्रमूख चन्दले बताउनुभयो ।
सडक बिच सम्म यसरी सवारी पार्किङ्ग गर्दा आवत–जावत गर्ने अरु साधनहरुलाई पनि यसले निकै समस्या गरेको र यस समस्याकोे तत्काल समाधान नगरिए ठुलो घटना घट् सक्ने पुनर्वास–५ का वडा सुधार संयोजक नन्दराज जोशीले बताउनुभयो ।
पुनर्वास राष्ट्रिय आवास कम्पनीको दश कट्टा जमिनमा निर्मित ईलाका प्रशासन कार्यालयको खाली जमिन हुँदा हुँदै पनि जमिन नै नभएको जस्तो बाटोमा पार्किङ्ग गराउनुपर्ने समस्या सिर्जना हुनुमा तपाईहरुलाई कस्को कमजोरी लाग्छ ईलाका प्रशासन,नगरपालिका या सडक विभाग ? यसको समाधान तत्काल खोजियोस भन्ने सेवाग्राहीहरुको ठुलो माग छ ।

Facebook Comments
ads-480-38

Comments are closed.