प्रथम बेलौरी पर्यटन महोत्सवको नतिजा

हात्ती आयो, हात्ती आयो, फुस्स !

–रञ्जित लामा
बेलारी, ७ पौष  । 
चुनौतीका चाङका बीच यहि कार्तिक ८ गतेदेखि १८ गतेसम्म आयोजित बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेला अपेक्षा गरेभन्दा निकै सफल भएको देखियो ।
कञ्चनपुरको पुरानो सदरमुकाम समेत रहेको बेलौरी नगरपालिकामा यहाँको पर्यटन, कृषि, व्यापार लगायत अन्य क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यका साथ बेलौरी उद्योग वाणिज्य संघको आयोजना तथा बेलौरी नगरपालिकाको सह–आयोजनामा पहिलो पटक बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेला बडो धुमधाम र तामझामका साथ सम्पन्न गरियो ।


निकै सफल मानिएको यस महोत्सवको आम्दानी र खर्च विवरण जब विहीबार पत्रकार सम्मेलन गरी महोत्सव आयोजक समितिका संयोजक तथा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले सार्वजनिक गर्नुभएपछि मात्र थाहा भयो, बास्तबिकता अर्कै रहेछ ! प्रतिवेदनमा आयोजक समितिलाई कूल तीन लाख अन्ठाउन्न हजार सत्तरी रुपैयाँ मात्र बचत भएको रहेछ । यदि बेलौरी नगरपालिका कार्यालयबाट चार लाख पचास हजार सहयोग नहुने हो भने आयोजक समितिलाई उल्टो एकानब्बे हजार नौ सय तीस रुपैयाँ घाटा भएको प्रतिबेदनमा उल्लेख गरिनु पर्नेरहेछ ।
विभिन्न सहयोग तथा टिकटबाट आएको कूल आम्दानी सर्चालीस लाख एकानब्बे हजार पाँच सय रुपैयाँ र चवालीस लाख तेत्तीस हजार चार सय तीस रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । महोत्सव निकै सफल भनेपनि अत्याधिक खर्च देखिएका कारण कूल मुनाफा न्युन देखिएपछि समृद्ध बेलौरीको सपना देखेका बेलौरीबासी एकाएक निराश बन्न पुगेका छन् । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बेलौरीको आधार’ भन्ने मूल नारा सहित महोत्सवमा हौसिएका बेलौरीबासीलाई करिब डेढ महिनापछिको बहुप्रतिक्षित आर्थिक प्रतिबेदनले एकाएक निराश बनाएका हुन् ।
महोत्सवका माध्यमबाट बन्दातालको विकास, बेलौरी–खजुरीया भन्सार नाका स्तरोन्नति, दाेंदा नदी कटान व्यवस्थापन, कलुवापुर–बेलौरी सडकखण्ड तथा डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडकखण्ड शीघ्र निर्माणका लागि सरकारलाई दबाब दिन सकिने लगायत विविध विषयलाई प्राथमिकतामा राखेर आयोजना गरिएको महोत्सबको आर्थिक नतिजा बेलौरीबासीको लागि ‘हात्ती आयो, हात्ती आयो, फुस्स !’ भनेझै भएको छ ।
चालिस हजार टिकट बिक्रीबाट १७ लाख त्रिहत्तर हजार रुपैयाँ आम्दानी भएको छ भने बेलौरी नगरपालिका कार्यालयबाट चार लाख पचास हजार सहयोग प्राप्त भएको छ । त्यस्तै अन्य थुप्रै संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।
महोत्सवको संकलित रकमबाट सर्प दंश उपचार केन्द्रलाई एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै विशेष आकर्षणमा तीन लाख उखु हकहीत समितिलाई दिइएको उल्लेख गरिएको छ । यो सहयोग रकमलाई खर्चमा देखाईएको छ । त्यस्तै, कलाकारका लागि मात्र चौध लाख छैसठ्ठी हजार सात सय खर्च भएको छ ।
बताए अनुसार आयोजक समितिको अपरिपक्वता र हचुवाको भरमा गरिएको खर्चका कारण सम्भावित योजना समेत सफल हुन नसकेको बेलौरी बजारका व्यापारीहरु बताउछन् । अन्य सबै क्षेत्रबाट पूर्ण सहयोग प्राप्त भएपनि आयोजकको आफ्नै अन्योलका कारण महोत्सवले अपेक्षित लाभ लिन नसकेको स्थानीय व्यापारी बिक्रम चन्दले बताउँनु भयो ।
फितलो ब्यबस्थापनले महोत्सवको उद्धेश्यमाथि कुठाराघात भएको भन्दै अर्का स्थानीय ब्यापारी दिपेन्द्र बिष्टले चिन्ता ब्यक्त गर्नु भएको छ । ‘महोत्सबका लागि चौतर्फी रुपमा सहयोग र श्रोत जुटेको भएपनि खर्च ब्यबस्थापनमा देखिएको केटाकेटीपनले सिङ्गो बेलौरीबासीलाई निराश बनाएको छ ।’ वहाँले भन्नु भयो– ‘सोचेको भन्दा बढी नै खर्च भएको छ ।’
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले महोत्सव आयोजक समितिले परिकल्पना गरेका योजनालाई भुल्नु नहुने बताउनुभयो । उहाँले आयोजक समितिले प्रस्तुत गरेको प्रतिबेदनमा पहिले भनिएका तर हाल सार्वजनिक प्रतिवेदनमा छुटाइएका यहाँका कृषि, पर्यटन, नाका तथा विविध क्षेत्रलाई प्रतिवेदनमा समेट्दै लैजानुपर्ने बताउनुभयो । महोत्सव सञ्चालनको अनुभवको कमिका कारण महोत्सवको खर्च व्यवस्थापनमा कमजोरी भएको अध्यक्ष चौधरीले स्वीकार गर्नुभयो । ‘यिनै कमीकमजोरीहरुलाई आत्मसात गर्दै आगामी दिनमा सुधार गर्दै लिएर जानेछु ।’ वहाँले भन्नु भयो–‘काम गर्दा कठिनाइ हुन्छ, कमजोरी हुन्छ अनि गल्तीबाटै सिक्ने हो भन्ने भावनाको केन्द्रमा विकास गरिनु जरुरी छ ।’
अगामी वर्षहरुमा पनि महोत्सवको निरन्तरता हुने नहुनेमा अहिले नै निर्णय नभएको आयोजक समितिले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.