बेलौरीमा वृह्त दशैं विशेष कार्यक्रम तथा रमाइलो मेला हुने

केशब भट्ट,
बेलौरी, २० भाद्र । 
बेलौरीमा पहिलो पटक वृह्त दशैँ विशेष कार्यक्रम तथा रमाइलो मेलाको आयोजना हुन गइरहेको छ ।
बेलौरी नगरपालिका वडा नं. ५ स्थित कालेश्वर महादेव मन्दिर परिसर भित्र असोज २३ गतेदेखि २९ गतेसम्म मेला लाग्ने भएको हो ।
बेलौरीमा गरीब, जेहेन्दार तथा अशक्त वालवालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उद्धेश्यले स्थापना गरिएको पूर्व विद्यार्थी समाज नामक संस्थाले विद्यार्थी केन्द्रित गरी रमाइलो मेला आयोजना गर्न गइरहेको समाजका अध्यक्ष लोकेन्द्रसिंह कुवँरले बताउँनु भयो । मेलामा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, विभिन्न स्टलहरु, चर्खा, मौतका कुवा, विद्यालय स्तरीय कला संस्कृती प्रतिस्पर्धा, रानाथारु, चौधरी समुदायको चालचलन, भेषभुषाको पर्दशन,राष्ट्रिय स्तरका कलाकार लगायत अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने बताइएको छ ।
बेलौरीमा पहिलो पटक आयोजना हुन लागेको ७ दिने दशैँ विशेष कार्यक्रमले यस क्षेत्रमा बसोबास गर्ने नागरिकमा खुसीको अनुभूति दिलाउनुका साथै चाडपर्वका बेलामा बेलौरी बजारमा समेत व्यापारमा वृद्घि गर्ने लक्ष्य रहेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रलाई केन्द्रस्तरसम्म चिनाउने उद्धेश्य सहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।
मेला लाग्ने स्थानमा यस प्रदेश नं.७ कै ठूलो रानाथारु संग्राहलय स्थापना भइरहेकाले पनि पर्यटकिय क्षेत्र रहेको छ । यहाँको हावापानी, मौसमका कारणले गर्दा समेत रमणीय स्थान रहेको छ । दोंदा नदिमा निर्माणधिन पक्कि पुल, रानाथारु संग्राहलयले दैनिक जसो मानिसहरु मनोरञ्चन गर्न यहाँ आइरहेका हुन्छन् ।
मेला अवलोकन गर्न यहाँ कञ्चनपुरका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, बेल्डाँडी गाउँपालिका तथा कृष्णपुर नगरपालिका, शुक्लाँफाटा नगरपालिकाका साथै कैलालीको धनगढी उपमहानगरपालिका तथा भारतको खजुरीया, सम्पूर्णानगर, पलियाका नागरिकलेसमेत मेलमा सहभागी हुने आयोजकले जनाएको छ ।
यी पाँच स्थानीय तहको मध्य भागमा रहको कालेश्वर महादेव मन्दिर परिसरमा लगभग ५० हजार जनाले अवलोकन गर्ने जनाएको छ । नेपालीहरुको महान चाड दशैंमा स्वदेश तथा विदेशमा रोजगारीका लागि गएकाहरु पनि घरफर्किने हुनाले पनि यस मेलाको अवलोकनकर्तामा वृिद्घ हुने पूर्व विद्यार्थी समाजका उपाध्यक्ष वालकुमारी पोखरेलले बताउनु भयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.