कञ्चनपुरमा ३ हप्तामा १३ हजार बढी मतदाता थपिए, पुरुषभन्दा महिला मतदान गर्न उत्साहित

ईश्वर दत्त बडू

कञ्चनपुर, २४ साउन ।
कञ्चनपुर जिल्लामा तीन हप्ता भित्र १३ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार साउन १ गतेदेखि २२ गतेसम्म १३ हजार ३ सय १४ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले ६ हजार ३३ पुरुष र ७ हजार २ सय ८१ महिलाले निर्वाचन आयोगमा फोटो सहितको नामावली दर्ता गराएको बताए । यस अवधिमा नामावली दर्ता गराउने नागरिक मध्ये पुरुषभन्दा महिलाको संख्या बढी रहेको भण्डारीले बताए । ‘पुरुषहरु कामका सिलसिलमा वैदेशिक रोजगारीमा गएका कारण पुरुषको संख्या कम हुन गएको देखिन्छ’, ‘उनले भने, ‘महिलाहरु प्रायः व्यवसायमा सहभागी हुदैनन्, त्यसैले बढी मतदाता महिला देखिएका हुन् ।’

जिल्ला निर्वाचन कार्यालयमा विदाका दिनमा समेत मतदाता नामावली संकलन भईरहेको उनले बताए । जिल्लाका ९ वटै स्थानीय तहबाट नामावली दर्ता गराउने काम भईरहेका निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तहबाटै छुट नामावली दर्ता गराउने काम सुरु गरिएकाले फोटो सहितको नामावली दर्ता गराउनेको संख्या बढेको समेत उनले बताए । बेल्डाँडी,लालझाँडी गाँउपालिका र बेलौरी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली नगरपालिका कार्यालयबाट एकसाथ फोटो सहितको मतदाता नामावली संकलन भईरहेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरमा दुई गाउँपालिका सहित सात नगरपालिकामा दुई लाख ३५ हजार, ७ सय ३५ कुल मतदाता मध्ये एक लाख १५ हजार, ४ सय २२ पुरुष, एक लाख २० हजार ३ सय १२ महिला र एक तेस्रो लिङ्ग मतदाता रहेका थिए । निर्वाचन आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि जिल्ला निर्वाचन कार्यालयमा र १६ गतेदेखि जिल्लाका ९ वटै स्थानीय तहबाटै छुट नामावली दर्ता गराउने काम सुरु गरिएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.