लघु कथा ः भ्रुण

–सुमन शाक्य

म एउटा भ्रुण, आमा बुबाको मायाको निशानी स्वरूप मेरो बिजरोपन भयो । सबै जना खुशी थिए जब थाहा पाए कि म कोख भित्र हुर्कंदै छु । तेस्रो सन्तानको रूपमा मेरो आगमन हुन लागेको थियो हाम्रो परिवारमा । म भन्दा अघि दुई दिदीहरूले आमाको कोखबाट जन्म लिईसक्नु भएका थिए । म पनि आतुर थिएँ यो बाहिरी रमणीय संसारको दृष्टि दर्शन गर्न । आमाले खानुहुने हरेक मीठा खुराकहरूको स्वाद म पनि भित्रभित्रै लिन्थें। कौतुहल्ता निकै थियो मनमा बाहिरी संसारलाई लिएर, भइरहेका हरेक नयाँ कुराहरूको । बेलाबेलामा हेरविचार गर्ने डाक्टरको मा पनि धाउँदथे बाबा आमा र सरसल्लाह हरू लिन्थे। लगभग साढे दुई महिना पूरा भएपछि डाक्टरले भिडियो एक्सरे गरेर हेर्नुभयो र गर्भका छोरी भएको खबर सुनाउनु भयो वहाँहरूलाई । म निकै खुशी थिएँ छोरीको रूपमा जन्मिन जाँदै थिएँ । सबैलाई माया बाँड्ने मेरी आमा जस्तै बन्ने मेरो पनि चाहना थियो।
त्यसको केहीं दिन पछि हामी फेरी डाक्टर कहाँ गयौं । डाक्टरले अनेक जाँचहरू गर्नुभयो ।
(“आ !!!! आ !!!! ऐया…..बा“ मलाई सहि नसक्नु पीडा भयो त्यस दिन । जबर्जस्ती केहीं कुराले आमाको गर्भ खोतल्न शुरू गर्न थाले । के, बिर्सनु भएको थियो र वहाँहरूले कि म पनि त्यहीं गर्भ भित्र हुर्किरहेकी थिएँ ? भर्खर विकसित हुन खोजेका मेरा शरीरलाई छिया छिया पार्दै साना–साना अंगहरू टुक्रा टुक्रा बाहिर निकाल्न थाले। वहाँहरू सबैजनाले सोंच्नु भयो होला म भर्खर दुई महिना पुरा गरेकी एउटी भ्रूणलाई केहीं थाहा हुनेवाला छैन ।
तर …. तर मलाई त सबै थाहा थियो, सहन् गर्नै नसक्ने पिडा थियो त्यो, आमा । हो छोराको चाहनामा तपाईंलाई बाबा र परिवारले बाध्य पारेका थिए तर तपाईंले दह्रो प्रतिकार पनि त गर्न सक्नु भएन । छोराको रूपमा जन्म लिन नसक्नु, के मेरो गल्ती थियो ? आखिर म किन गर्भपतनको शिकार हुन बाध्य भएँ, किन ?

Facebook Comments
Down to post ads-480-38

Comments are closed.