चुनाबमा हाम्रा हैन सर्बथा राम्रा ल्याउँ !

चुनाव नजिकैएसँगै जताततै वादैवाद, सिद्धान्त नै सिद्धान्त, गुटबन्दी र विचारको चर्काे चहल खेल समाजमा छरपस्टिएका छन् र लाग्छ वौद्धिक विकासको पराकाष्टा नै नाघिएको जस्तो । एकाइसौं सताब्दीमा टेकिएका विकसित मष्तिस्कहरुको प्रभाव यति पनि नहोस् पनि कसरी र त्यसैले यी घटना र प्रसङ्गहरु नितान्त अट्पटा लागेर पनि हामी स्वीकार गर्न बाध्य छौं । फेसबुकको भित्तामा आफ्नो मन पर्ने पार्टीको रङ्ग लेपेर प्रचारप्रसारमा हौसिएका एककिसिमको युवा जमातलाई हेर्दा यस्तो लाग्छ राजनीतिमा अब युगान्तकारी परिवर्तन नै हुनेछ । राजनीतिको फोहरहरु सबै धोइपखालिएर शुद्ध, कञ्चन र निर्मल गंगा नै बहनेछ । राजनीतिमा युवावर्गले देखाएको चाँसो र कदमको प्रशंसा हामी सबैले गर्नै पर्छ । तर प्रशंसा के को ? युवा वर्गले राजनीतिमा देखाएको चाँसोको या अन्ध हिमायत भएर पार्टीको पिच्छलग्गूको ?
आज भोलि एउटाले गरेको कार्यमा अर्काेको पूर्ण समर्थन हुने कुरा नाग मणि फेला पर्नु सरी भइसकेको छ । कार्य सही होस् या नहोस् बस बिपक्षी हुनु भएन । एउटा अन्ध हिमायती हुनु आजको परिप्रेक्षमा बौद्धिकताको उचाइलाई चुलाउनु हो भन्छन् । स्वतन्त्र भएर जिउनुलाई ‘पेन्डुलम’ र सबैको राम्रो कार्यको प्रशंसा गरिदिनेलाई ‘दहि चिउरे’ को संज्ञा दिन्छन् यी बौद्धिक जमात । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने स्पष्ट बक्तालाई यही समाजले दुत्कारेकै छ । सही र सत्य बोल्नेहरुलाई कुनै न कुनै अप्ठ्यारोले पिरोल्न बाध्य बनाएकै छ । सही र सत्यको जमाना छैन भनी भनी सत्यवादीहरु पनि बैमानीको खेती गर्नतिर उन्मूख हुँदै गरेको अवस्थामा आजको युवाको भूमिका राजनीतिमा कस्तो रहला त ? हामी सहजै अनुमान गर्न सक्छौं । आफ्नो पार्टीलाई जिन्दावाद भन्नलाई अरुको पार्टीलाई मुर्दावाद भन्नै पर्दैन भन्ने संस्कार यहाँ कुनै पनि पार्टीले सिकाउन सकेको छैन । ‘फुटाउ र राज गर’ भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै र गर्न लगाउँदै राजनीतिमा चौतर्फी विषाक्तता भरिदिएको छ । यसप्रति हाम्रो ध्यान किन जादैन ? हामी जुनसुकै पार्टी र सिद्धान्तको किन नहोस् गलतलाई गलत र सहीलाई सही भन्ने साहसको सञ्चय गर्नै पर्छ । आफ्नै भित्रको बिकारविरुद्ध आफ्नैहरुसित खुलेर लड्नै पर्छ अनि हुन्छ राजनीतिमा युवाको चेतना । नत्र पार्टीको झण्डा बोकेर भक्त बनेर कसैको भक्ति गर्दैमा राजनीति चेतना आउने भए राजनीतिमा सबैभन्दा सम्मुनत राष्ट्र नेपाल नै हुने थियो होला ।
बैमानी, छलकपट र धोकामा नै हामीलाई विश्वास लाग्न थालेको छ । आज भोलि राम्रो मान्छे भन्दा पनि सफल मान्छे बन्नेतिर प्रेरित छ समाज र आजभोलिको बाबूआमालाई पनि नैतिकवान छोरा भन्दा, शक्तिवान छोरा प्यारो र आवश्यकीय लाग्न थालेको छ । समाजमा नैतिकताको योगदानलाई पर राख्दै भौतिकताको योगदानलाई विशिष्ट मान्ने प्रचलन हाम्रै त हो । चाहे त्यो भौतिकतामा तस्करीको चर्काे गन्ध किन नआएको होस् र हामी त्यही भौतिकतालाई स्वीकार गरिरहेका हुन्छौं जुन भौतिकतामा क्षणिक सुख ब्याप्त छ, लुकेको छ । त्यसैले त समाजको यो दूर्दशा छ । सोझो मनले यो काम गरौं न भनी अगाडि बढ्नेहरुलाई, कुन पार्टीको हो भन्ने प्रश्नले अल्झाउछ र शिक्षा जस्तो निकै सम्बेदनशील, वादबाट कोशौं पर रहनु पर्ने क्षेत्र त अछुत रहन सकेन भने अरु क्षेत्रको के हाल होला ? राजनीति आवश्यक हो तर कस्तो ? राजनीति अनिवार्य हुन्छ तर कस्तो ? राजनीति सर्बत्र हुन्छ तर कस्तो ? जबसम्म यो कस्तोको उत्तर राजनीति भित्र अटाउँदैन तबसम्म यस्ता चुनाव जति नै भएपनि जनताले देखेको सामाजिक परिकल्पना असम्भब छ । त्यैसैले चुनाबमा हाम्रा हैन सर्बथा राम्रा ल्याउँ !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.