विकाससँगै विनाश पनि

व्यक्तिगत स्वास्थ्य र वातावरणीय संरक्षण हुनु सम्पूर्ण मानव जातिको मात्र नभई जिवित प्राणीहरूको लागि पनि यो अत्यावश्यक छ । वातावरणीय समस्याका कारण आएका विभिन्न रोगहरू दिनप्रतिदिन बढ्दो अवस्थामा छन् । वातावरण प्रदुषणका कारण विभिन्न किटाणुहरूको जन्म भई त्यसको संक्रमणले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ भनेर कुरा गर्ने हामीहरू नै व्यवहारिक पाटोमा असफल र उदासिन देखिएका छौं । यस्तो अव्यवहारिक सिकाइकै कारण वातावरण प्रदुषणमा दिनप्रतिदिन बढोत्तरी भइरहेको छ ।
हालै सञ्चालनमा आएको भाग्यश्वर सुगर मिल कृषकहरुलागि एउटा आकर्षणको थलो बनेको छ । हजारौं बेरोजगार युवा र समाजमा बरालिएर हिड्ने समूहको निम्ति पनि यो सुगर मिल बरदान नै सावित भएको छ । कोशौं टाढा भारत र अन्य देशहरुमा रोजगारीको शिलशिलामा बिदेशिनु पर्ने समस्यालाई समाधान गर्दै घरमै रोजगारीको सृजना यसले गरिदिएको छ । आर्थिक हिसावले समाजलाई यसले समृद्ध पार्ने सम्भावना प्रबल देखिएको भए पनि वातवरणीय प्रदुषणको लागि भने पुनर्वास र योसँग जोडएको क्षेत्रहरुका लागि यो एउटा श्रापित भूमी नै सावित भएको छ । प्रारम्भिक चरणमै अहिले चिनी मिल वरपरको पाँच किलो मिटर क्षेत्र निकै प्रदुषित बन्दै गएको छ । यो क्षेत्र जल, भूमी र वायुको प्रदुषणले आक्रान्त छ । चिनी मिलसँगै जोडिएका गाउँ–घर, खोला नाला दुर्गन्धले बसिनसक्नु भएको छ भने चिनी मिलको चर्काे ध्वनीले बाताबरण निकै अशान्त बनेको छ । यता पुनर्वासमा मात्र १४ ओटा इट्टा भट्टाहरु अहिले सञ्चालनमा रहेका छन् । साना ठूला अन्य कला कारखानाहरु हिसाबमै परेकै छैनन् । पुनर्वासको विकासमा जति–जति फट्को मारिदैछ त्यति–त्यति नै स्वास्थ्यको हिसाबले हामी असुरक्षित बन्दै गएका छौं । विकासँगै विनाश पनि निम्तिने तथ्यलाई अस्वीकार गर्न मिल्दैन । विकास निर्माणका कार्यहरु बेपर्वाह तरिकाले गर्दा बातावरणमा यसको नकरात्मक असर पर्ने तथ्यलाई पनि सरोकारवालाहरुले स्वीकार गर्नै पर्छ । सरकारले दिएको निश्चित मापदण्डमा टेकेर उद्योग धन्दा कलकारखाना सञ्चालनमा आउनु नाजायज होइन तर यसको गलत प्रकृया र नियम विपरीप गएर आम जनताको अमूल्य स्वास्थ्यसँग खेलवाड गर्ने उद्योग धन्दाहरु आम जनता र राज्यकै लागि जायज हुन सक्तैन । त्यस्ता कलकारखाना, उद्योगधन्दाहरु यथाशीघ्र जोसुकैको भएपनि कार्वाहीको दायरामा आउनै पर्छ ।
हेर्दा त्यति गहन देखिन्न वातावरणीय प्रदुषणको मुद्धा तर उद्योगधन्दाबाट निस्किएको प्रदुषणले पनि जलवायु परिवर्तनमा मुख्य भुमिका खेलेको हुन्छ । वालीनाली उब्जाउ हुने समयलाई समेत यसले असर पारेको छ । पानी परेको छैन । उब्जाउमा ह्रास आएको छ । ढिलो पाक्ने फलफुलहरू छिट्टै पाक्न थालेका छन् । जलवायु परिवर्तनको कारण यो सबै भइरहेको छ । प्रदुषणका कारण दम, मुटु तथा फोक्सोसम्बन्धी दीर्घकालिन रोगमासमेत बृद्धि भइरहेको छ । नाकबाट हानिकारक धुलोका रसायनिक पदार्थ मिसिएका कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गरी क्यान्सरजस्ता प्राण घातक रोगसमेत लाग्न सक्छ । यसको वैकल्पिक उपायको बारेमा थाहा नहुन्जलेसम्म वातावरणीय समस्याको नियन्त्रण सफल हुन सक्दैन । तर यसमा पूर्ण नियन्त्रण नभए पनि रोकथाम र न्यूनिकरणको उपाय भने अवश्य लागू गर्न सकिन्छ । यस्ता सिद्धान्तिक ज्ञानहरु प्रशस्त भएका हामीहरु आफै वातावरणको विषयमा बुझेर अबुझ बन्दा भोलि अझ गम्भीर समस्या नआउला भन्न सकिन्न । आर्थिक हिसाबले समृद्ध बन्ने होडमा कत्तै हामी अस्वस्थ जीवनलाई रोजिरहेका त छैनौं ? त्यसैले फोहोरजन्य पदार्थ नियन्त्रणको लागि हामी सबै सचेत बनौं ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.