नेताजीहरुसँग यसको उत्तर छ ?

हरेक हिउँदमा काठमाडौंबाट पुनर्वासमा रात्रीबस गुड्दछ र चिल्लो गाडीहरुको अगामनसँगै नेताहरुको आवात–जावत पनि बाक्लिदै जान्छ । गुड्नेदेखि उड्नेसम्मका यातायातहरुमा नेता जीहरुकै बर्चश्व कायम भएको हो की यस्तै प्रतीत हुने गर्दछ । स्वागतका लागि लामबद्ध जनताहरु स्वागतम्का तूल र पुष्प गुच्छा अर्पण गर्न तम्तयार देखिन्छ । पुनर्वासका प्राङ्गणहरुमा थुप्रै आमसभाहरु, मीठा, रसिला भाषण भीषणले ब्यापकता पाउँने गर्दछ । मनै रसाउने विकासका रमाइला कथाहरु विश्वास लाग्दो तारिकाले जनता सामू सुनाइन्छ । एक छिन जनताहरु काल्पनिक विकासको दुनियाँमा घुम्छन् र मख्ख पर्छन् । तालीको गड्गडाहट्ले आफ्नो अपूर्व खुशी व्यक्त गर्छन । लाग्छ पुनर्वास नेपालको सुदूर बिकटको कुना कन्दरामा हैन कुनै विकसित क्षेत्रमा अवस्थित छ ।
तर वास्तविकता अर्कै छ, जब वर्षायाम लाग्छ, सदरमुकाम जानेबाटाहरु पूर्णरुपले हिलाम्य र अबरुद्ध हुन्छन् । १२ किलो मिटर टाढा पर्ने कैलालीको धनगढी पुनर्वासीको लागि दूरुह र असम्भव बन्न पुग्दछ । नजिकैका भारतीय शहर जान पुनर्वासीलाई जंगल, हिलो र भारतीय एस.एस.बी.को कष्ट सहेर स्वाभिमानी शीर झुकाउदै यहाँका जनताहरु लुरु–लुरु जान बाध्य हुनु पर्दछ । इमर्जेन्सी उपचारमा लानु पर्ने विरामीहरु बाटोघाटोको अभाबमा उपचार नपाई मर्न बाध्य हुन्छन् । प्राय गरेर सर्पदंशका विरामीहरुसँग मर्नु बाहेक अर्काे विकल्प छैन् । अकालमै मृत्युबरण गर्नु पुनर्वासीको अर्काे एक खासियत बन्न पुग्दछ । कञ्चनपुरको दक्षिणी भेग विशेष गरेर पुनर्वास भन्ने ठाउँ, आफ्नै देशको भूमि भएर पनि नेपालको कुनै भू–भाग नै नभई अर्कै कुनै अञ्जान ग्रह हो । जस्तै नेपालसँग कुनै सरोकार नै छैन । सरोकार राख्नु पर्ने सरोकारवालाहरुको अत्यन्तै खडेरी पर्छ जब पुनर्वास एउटा टापुमा परिणत हुन्छ । पहूँच र शक्तिशाली भनी धक्कू लगाउँने नेतागणहरु यति बेला कता बिलाउँछन् कता ? शक्ति, भक्ति र आशक्ति भन्ने कुरा कसैलाई नीच देखाउन प्रयोग गरिनु भन्दा सम्पूर्ण पुनर्वासीको हक–हीतको लागि प्रयोग गरे कस्तो हुन्थ्यो होला ?
पुनर्वासमा थुप्रै राजनीतिक दलहरु सक्रिय छन् । सत्तासम्म पँहूच भएको दाबी गर्ने थुप्रै व्यक्तित्वहरु हुनुहुन्छ पुनर्वासमा । पुनर्वासको लागि नै आफ्नै पाटी र आफू भनेर नथाक्ने आदरणीय नेता जीहरु यहाँ छ्यापछ्याप्ती र बग्रेल्ती भेटिनुहुन्छ । तर खै ! सदरमुकामसँग जोड्ने बाटोलाई बाह्रै मास चल्ने कालोपत्रो बनाउन र डोके बजारदेखि पुनर्वास जोड्ने बाटोलाई कालोपत्रे बनाउने काम कहिलेबाट शुरु हुने हो ? हरेक वर्षायाममा हामी नेपालको मुख्य भूमिबाट कतिञ्जेल छुटिएर बस्नु पर्ने हो ? इमर्जेन्सी उपचार नपाएर पुनर्वासीहरु कहिलेसम्म अकालमै मर्नु पर्ने हो ? आफ्नो स्वाभिमानी शीर झुकाएर कहिलेसम्म भारतीय एस.एस.बी.को अत्याचार सहेर बाँच्नु पर्ने हो ? के हाम्रा सत्तासँग पहूँच भएको दावी गर्ने नेताजीहरुसँग यसको उत्तर छ ?

Facebook Comments
Down to post ads-480-38

Comments are closed.