नव वर्ष र नेपाली संस्कृति

केहि दिन अघिमात्रै क्रिसमसको शुभकामनाले सञ्जालका भित्ताहरु रंगिएका थिए । फेरि इश्वी सम्वत्को नयाँ वर्ष आगमनको पूर्व संध्यादेखि नै सामाजिक सञ्जालका भित्ताहरु शुभकामना आदान–प्रदानका झिलिमिली तस्विर र सन्देशहरुले रंगिएको देखियो । हुन त नेपालीहरु विक्रम सम्वत्को पात्रो अनुसार बैशाख १ गतेलाई नव वर्षको पहिलो दिनको रुपमा मनाईरहे पनि केहि वर्ष यता विस्तारै इश्वी सम्वत्को नयाँ वर्षलाई पनि हर्षोल्लासका साथ मनाउने चलन चल्न थालेको छ । जुन युवा वर्गमा वढि देखिन्छ । सूचना प्रविधिको तीव्र विकासले विश्वलाई एउटा सानो गाउँको रुपमा बदलिदिएकाले विश्वका जुनसुकै कुनामा मनाइने चाडपर्व, संस्कृति र लवाइ खवाइ पनि विश्वभरीका जनता माझ अब अपरिचित र नौलो नहुने भएको छ । त्यसैगरि यातायातको विकासले पनि अब केहि घण्टा भित्रै विश्वभरी सजिलै आवतजावत गर्न सम्भव भएकाले पनि मानिसले एक अर्काको संस्कृति जान्ने र बुझ्ने मौका पाएका छन् । मानवीय स्वाभाव एक अर्काको सिको वा नक्कल गर्ने भएकाले नेपाली समाजमा पछिल्लो केहि वर्ष यता इश्वी सम्वत् वा नेपाली जनजिब्रोमा झुण्डिएको शब्दानुसार भन्नुपर्दा अंग्रेजी नव वर्षलाई पनि उल्लासका साथ मनाउने गरिएको हो । नेपालको सन्दर्भमा भन्नुपर्दा वैदेशिक रोजगारी, अध्ययनको शिलशिलामा विदेशिने चलनले पनि यसलाई थप मद्धत गरेको छ । त्यसै गरि नेपाली समुदायमा भ्यालेनटाइन डे लगायत पश्चिमी वा युराप अमेरिकातिर मनाईने चाडपर्वहरु पनि मनाउने चलन बढ्दै गएको देख्न सकिन्छ । यसरी विदेशी संस्कृति नेपालमा भित्रिरहेको वर्तमान सन्दर्भमा कतिपय संस्कृति विदहरुले यसलाई नेपाली संस्कृति माथि अतिक्रमण भईरहेको तर्क प्रस्तुत गर्दछन् । र नेपाली संस्कृतिको अस्तित्व मेटिने खतरा रहेको बताउछन् । भने कतिपय विद्वानले विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा यसलाई स्वाभाविक मान्दछन् र यसबाट नेपाली संस्कृति थप पुरस्कृत हुदैँ जाने तर्क गर्दछन ।
माथि प्रस्तुत तर्कहरु आ–आफ्नो ठाउँमा दुवै सहि हुन सक्छन् । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो देश नेपालमा वर्तमानमा जुन प्रकारले विदेशी संस्कृतिको प्रचार–प्रसार भएको छ र हाम्रो दैनिक जीवनमा जसरी हामीले अवलम्वन गरिरहेका छौ , त्यसरी हाम्रो नेपाली चाडपर्व र संस्कृति पनि विश्वका अन्य भागमा बस्ने विदेशीहरुले पनि मनाईरहेका वा अवलम्वन गरिरहेका छन् त ? विश्वव्यापीकरणको कारणले अन्य देशको संस्कृतिको प्रचार जसरी भएको छ , के नेपाली संस्कृतिको प्रचार–प्रसार भईरहेको छ त ? यसको उत्तर स्वभाविक रुपमा आउँछ हैन । नेपाली संस्कृतिको प्रचार–प्रसार नभएकै कारणले यस्तो अवस्था आएको हो भन्ने कुरामा कसैको असहमति हुनै सक्दैन । त्यसैगरि नेपाली संस्कृतिको व्यापकता लागि हामी नेपालीले जिम्मेवार बहन गर्नु पर्ने कुरामा पनि दुई मत हुन सक्दैन । र हाम्रै अकर्मण्यताकै कारणले नेपाली संस्कृतिको व्यापकता र उत्थान नभएको तथा हाम्रो नयाँ पिढीहरु पथभ्रष्ट हुदै क्रमशः विदेशी संस्कृतिको नक्कल गरिरहेको तथ्यले निश्चित रुपमा हरेक स्वाभिमानी नेपालीलाई एकचोटी भित्रैदेखि कोपर्छ, र सवै नेपालीलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउँछ । जसरी हरियो रङ र रातो चुच्चा भएको कारणले चराको हजारौँ प्रजाती बीच पनि सुगाको छुटै पहिचान र विशेषता छ । यदि सुगाले कालो रङ ग्रहण गरेर उड्यो भने त्यसलाई कसले सुगा भन्ला र ? त्यसै गरि हामी नेपालीले पनि अरुको संस्कृति नक्कल गरे कसले हामीलाई नेपाली भन्ला ?
अरुको संस्कृतिको नक्कल गरेर आफ्नो मौलिक पहिचान गुमाउनु भन्दा आफ्नो संस्कृतिलाई प्रचार–प्रसार र माया गर्न सिकौँ । किनभने संस्कृति बिनाको मानव पुच्छर नभएको बादँर जस्तो हुन्छ । जसको कुनै मौलिक पहिचान हुदैँन । अंग्रेजी नववर्ष २०१६ ले हामीलाई यहि कुरा मनन गर्ने उर्जा प्रदान गरोस् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.