‘गुलाबलाई पत्थर भन्दैमा गुलाबले बाँस्ना दिन छोड्छ र ?’

जुनसुकै मुद्दा र जुनसुकै मागलाई पनि अगाडि राख्दा पूरा हुन्छ भन्ने सोंच आज–भोलि सघन हुँदैछ । सानो, ठूलो, तेरे राज्य मेरो राज्य, यो धर्म ऊ धर्म, यो जात ऊ जात भनी–भनी बिभिन्न बाहनामा हामी आपसमै चकनाचूर हुदैछौं । संयम, सामाजिक सहकार्य, सद्भाव र सहअस्त्विको भाव गुमाउँदै छ आम नेपालीले । कहिले जातीयताको नाममा त कहिले सीमांकनको नाममा, कहिले धर्मको नाममा त कहिले राजनैतिक आस्थाको नाममा हामी हजारौं ठाउँमा चिरा पर्दैछौं । सदियौं वर्षदेखि एनेकतामा एकताको भावलाई कायम राख्दै आएका सहिष्णु हामी नेपाली अहिले जातीयता, सीमांकन र धार्मिकताको गह्रुँगो चट्टानले हामीलाई नराम्ररी थिचिरहेको छ । अन्ततः समाज र मुलुक नै विखण्डनको संघारमा आइपुगेको आभाष आम जनताले गरिसकेका छन् । यो हुनु हामी नेपालीहरुको लागि ठूलो दुर्भाग्य हो ।
आजभोलि कसैको उक्साहटमा उस्की हाल्ने हामी बडो निम्छरो जन्तु जस्तै बन्दै गएका छौं । ज्वलन्त उदाहरणको रुपमा तीन साता अघि कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहाडीलाई खुँडा र भाला रोप्दै लखेट्ने घोषणा टीकापुरमै गरेका थिए । घोषणा अनुरुपकै कार्य सिद्धी भयो । तर पायौं के त ? ‘भाइ फुटे गवार लुटे’ । अहिले टीकापुरसहित धनगढी, अत्तरिया, भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी निषेधाज्ञ जारी गरिएको छ, अहिले समसान जस्तै सुनसान अवस्थामा छन् हाम्रै रमाइला शहरबजार र गाउँघरहरु । आखिर यसको प्रत्यक्ष असर कसलाई परिहेको छ त ? जनतालाई कि अम्रेशकुमारलाई ? यो कुरा आम जनताले बुझ्नु निकै जरुरी छ । जसलाई हामीले ‘शीर्षस्थ’को पगरी गुँथाएका छौं, उसैले वि.सं. २०१७ सालपछिका तीस वर्ष पञ्चायती व्यवस्थाको बन्धक बनायो । वि.सं. २०४६ को परिवर्तनपछि पनि बन्दमुखी राजनीतिबाट मुक्त भएन । माओवादको चरम आन्दोलनले वि.सं. २०५८ देखि २०६२ सम्म देशलाई बन्धक बनाये । अब अखण्ड, मधेशी, थारुहट, लिम्बूवान, हिन्दू राष्ट्र के–के हुन् के–केले देशलाई बन्धक बनाउँदै छ । आखिर बन्द कहिले खुल्छ त ? र किन भइरहन्छन् यस्ता, यति धेरै बन्द ? प्रत्येक झिना मसिनादेखि लिएर ठूला—ठूला स्वार्थ र आत्मा केन्द्रित विषय बस्तु, दबाब वा राजनैतिक दलहरुका केही न केही माग सधैं बाँकी नै रहन्छन्, यसर्थ यस्को परिपूर्ती गर्न र गराउन यस्ता बन्द हड्तालको आयोजना राजनीतिज्ञहरुले गरिनै रहन्छन् । अर्थात नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने सबै खाले माग पूरा गराउने एउटै उपाय हो बन्द हड्तालको अस्त्र, राजनीतिक बिरोधको प्रमुख बनावट र ढाँचा नै अब बन्द हड्ताल बनेको छ । हजारौं अन्य वार्ताका बिकल्प रहदा रहदै पनि बन्द हड्ताल किन गर्छन् भन्ने सवालमा –सत्ताको लाभ पाउने सबभन्दा छोटो, छरितो र प्रभावकारी बाटो हो बन्द । अनि बन्दमा अहम भूमिका खेलिदिने हामी जनता नै हौ बन्दकर्ता, प्रदर्शनकारी, आन्दोलनकारी अनि आतंककारी हैन र ?
कैलालीलगायतका ठाउँमा भएका घटनाले आम नेपालीलाई चिन्तित र संवेदनशील बनाएको छ । संविधानमा उसरी सबैको भावना समेटिने प्रयास भइनै रहेको छ र अझै पनि यो कार्य जारी नै छ । तर घर पिच्छे र ब्यक्ति पिच्छेको मागहरुले संबिधान बन्ने कुरा पर–पर धकेलिदै छ । ‘गुलाबलाई पत्थर भन्दैमा गुलाबले बाँस्ना दिन छोड्छ र ?’ फेरि ‘पत्थरलाई गुलाब भन्दैमा पत्थरले बाँस्ना दिन थाल्छ र ?’ नामले केही फरक पर्दैन भन्ने कुरा आम जनताले बुझ्न जरुरी छ । ‘शीर्षस्थ’को पगरी गुँथ्नेहरुलाई त यो कुरा भलिभाती थाहा नै छ त्यसैले उनीहरु यसैको आडमा आफ्नो राजनैतिक घेरा मजबूत पार्न चाहन्छन् । राजैनैतिक बौद्धिक बेइमानीलाई हामी आम जनताले राम्ररी बुझ्न जरुरी छ । बुझेकाले राम्ररी बुझाउन जरुरी छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.