रेशम चौधरीको शपथ ग्रहण ३ बजे, शपथ लगत्तै फेरि थुनामा जाने

हेल्लो समाचारदाता

कैलाली,पौष १९
कैलालीको टीकापुर हत्या काण्डका योजनाकारको आरोप लागेका रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्ने भएका छन् । राजपा नेपालका नेता चौधरीले आज दिउँसो ३ बजे सांसदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । यसअघि विहान साढे ११ बजेको समय तोकिएकोमा ३ बजेलाई सारिएको हो । १२ बजे संसद् बैठक बस्ने भएकाले शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सारिएको राजपा अध्यक्ष महन्थ ठाकुरले बताए । चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गर्न लागेका हुन् । रेशम चौधरीको मुद्दा भने कानुन अनुसार अघि बढ्ने भएको छ । निर्वाचन अयोगले प्रमाणपत्र सहित पत्र पठाएपछि शपथ गराउनु सांसदको शपथ गराउन लागिएको हो । तर  शपथपछि चौधरी निलम्बित सांसदको रूपमा जेलमै रहनेछन् । उनले संसद बैठकमा बस्न नपाउने बताईएको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त आरोप चौधरीलाई लाग्दै आएको छ । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएपछि उनको शपथ ग्रहण हुन लागेको हो । कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशमले सिंहदरवार स्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गराउने बताईएको छ । चौधरी गत वर्ष मंसीर २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट चौधरी प्रत्यक्ष निर्वाचित भएका थिए । वारेश मार्फत् उम्मेदवारी दिएर चुनाव लडेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेकी मदन कुमारी शाह गरिमाले १३ हजार ४ सय ६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेकी थिईन् ।

टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफू विरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । कैलाली जिल्ला अदालत चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौंको डिल्लीबजार कारागारमा राखिएको छ । टीकापुर घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो ।

Facebook Comments
ads-480-38

Comments are closed.