एमाले कञ्चनपुरमा उम्मेदवारको टुंगो

पुनर्वास र बेलौरी मेयरमा थापा र भट्ट छनौट

 हेल्लो समाचारदाता
पुनर्वास, १२ बैशाख÷
स्थानीय तह निर्वाचनमा एमालेले कञ्चनपुरका उमेदवारको टुंगो लगाएको छ । जिल्लाका दुई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा सातवटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंग्याएको हो ।
एमाले जिल्ला कमिटीले ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट गर्न प्रदेशमा तीनजनाको नामावली पठाएको थियो । यसअघि बेल्डाँडी गाउँपालिका र महाकाली नगरपालिकामा उम्मेदवारको जिल्लाबाटै टुंगो लगाइएको थियो ।
बेल्डाँडी गाउँपालिकामा अध्यक्षका लागि धनबहादुर थापा र उपाध्यक्षका लागि कमला कार्की र महाकाली नगरपालिकाको मेयरका लागि किशोर लिम्बू र उपमेयरका लागि चिनी गिरीको नाम सहमतीय आधारमा जिल्लामा आएपछि एमाले जिल्ला कमिटीले अनुमोदन गरेको हो । एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख रणबहादुर महराले प्रदेश कमिटीले कञ्चनपुरका सबै गाउँ तथा नगरपालिकामा उम्मेदवार छनोट गरेको बताए ।
उनका अनुसार जिल्लाको पहिलो भीमदत्त नगरपालिकाको मेयरका लागि सुरेन्द्र विष्ट, उपमेयर माया पन्त, बेदकोट नगरपालिकामा मेयरका लागि अशोक चन्द, उपमेयर सुशीला सिंह, शुक्लाफाँटा नगरपालिकामा मेयर रणबहादुर महरा, उपमेयर तुलसादेवी हमाल, कृष्णपुर नगरपालिकामा मेयर कर्ण हमाल, उपमेयरमा रमिता राना बडायक, पुनर्वासमा जीवनराज थापा, उपमेयरमा शारदा बिष्ट, लालझाँडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा कुस्मा राना छनोट भएका छन् ।

उपमेयरमा शारदा बिष्ट (पुनर्वास)


पञ्चायतकालमा कैलाली कञ्चनपुरको पहिलो सदरमुकाम रहेको बेलौरी नगरपालिकाको मेयरमा पल्लवराज भट्ट र उपमेयरका लागि चित्रा चौधरीलाई उम्मेदवार छनोट गरेको छ । छिटै उम्मेदवार सार्वजनिक गरेर चुनावी अभियान जुट्ने एमाले कञ्चनपुरले जनाएको छ ।

Facebook Comments
ads-480-38

Comments are closed.